कानेपोखरी गाउँपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ|

कानेपोखरी गाँउपालिकाको संक्षिप्त परिचय

ऐतिहासिक पृष्ठभूमि
    मोरङको कानेपोखरी गाउँपालिका जिल्लाको बीच भागमा पर्दछ । यो गाउँपालिकाको उत्तरी भागमा चारकोशे झाडी छ भने त्यही भागबाट पूर्वपश्चिम राजमार्ग पनि गएको छ ।  यस गाउँपालिकाको उत्तरी भाग पूर्वपश्चिम राजमार्गभन्दा करिव ४ किलोमिटर उत्तरसम्म फैलिएको छ । कानेपोखरी भेग उर्बर जमिनले भरपुर छ । यस भेगमा निकै वटा सिमसार छन् भने पहाडबाट आएका खोला पनि यस गाउँपालिका भेगबाट बगेका छन् । प्रशस्तै जंगल र जलस्रोत रहेको तथा उर्बर जमिनसमेत रहेको कानेपोखरी गाउँपालिका प्राकृतिक सम्पदाका दृष्टिले निकै सम्पन्न छ ।  अघि वि.सं. १९७१ सालभन्दा अगाडि रंगेली विराटनगरको सदरमुकाम थियो । त्यस बेला कानेपोखरी गाउँपालिकाको सम्पूर्ण भूभाग रंगेलीको सिमावर्ती क्षेत्र थियो । तसर्थ त्यस बेला यस गाउँपालिका भित्रका विभिन्न भागमा मानिसहरूका निकै ठूलाठूला वस्तिहरू थिए । पछि वि.सं. १९७१ सालमा मोरङको सदरमुकाम विराटनगरमा सारिएको हो । त्यसपछि पनि कानेपोखरी विराटनगरको पूर्वतिर या रंगेलीको उत्तर तिरको महत्वपूर्ण गाउँका रूपमा परिचित रही रह्यो । अति उर्बर जमिन भएको हुँदा यस गाउँपालिका भेगको ख्याति निकै धेरै बढेको देखिन्छ ।
   
    कानेपोखरी भेगमा पर्ने कालीकोशी भेगको ऐतिहासिकता पनि निकै पुरानो छ । यस भेगमा सिमसार भएकाले अनेक प्रकारका जलचर र थलचर जीवजन्तु पाइने गर्दथे । स्थानीय धिमालहरूले यसलाई कारीकोशी भन्दथे, जहाँ पानीको ठूलो मूल रहेको र यहाँबाट उम्रिएको पानी निरन्तर रूपमा बगेर जाने हुँदा यसलाई कोशी भनियो । यसैगरी यहाँको माटो कालो भएको हुनाले त्यहाँबाट बग्ने खोला या पानीको स्रोतलाई कालिकोशी भनियो भन्ने अनुमान छ । त्यस स्थानमा सप्तकन्या देवीको पूजाआजा हुने गर्दछ । अहिले कालिकोशी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न यहाँका मानिसहरू प्रयासरत छन् ।  
नामकरण
    कानेपोखरीको नामकरणका बारेमा अनेक प्रकारका तर्कहरू पाइन्छन् । हालको कानेपोखरी गाउँपालिका कानेपोखरी नामक एउटा पोखरीको नामबाट बनेको हो । कानेपोखरीको नामकरणका बारेमा स्थानीय जनमानसमा प्रचलित एक किंवदन्तीअनुसार अघि विराट राजाका एकजना काने भन्ने गोठालाले गाईलाई पानी खुवाउन बनाएको पोखरी भएकाले यसलाई कानेपोखरी भनिएको बताउने गरिन्छ । यसैगरी यो पोखरी कानको आकारको भएकाले पनि यसलाई कानेपोखरी भनिएको बताइन्छ । यता यो पोखरीमा काने झार प्रशस्तै पाइने हुनाले यसलाई कानेपोखरी भनिएको हो भन्ने अर्को तर्क छ । यता माथि दिइएको किंवदन्तीका आधारमा यस भेगमा बस्ने बृद्ध महिलाले मेला भर्न जाने महिलाहरूलाई कानमा लगाउने गरगहना दिने भएकाले पनि यसलाई कानेपोखरी भनिएको हुनसक्ने अनुमान छ । स्थानीय धिमाल भाषामा बकुल्लालाई काने भनिने तथा यस पोखरी भेगमा बकुल्लाहरू देखा पर्ने हुनाले पनि यसलाई कानेपोखरी भन्ने गरिएको तर्क पाइन्छ । यसरी यस गाउँपालिकामा रहेको पोखरीको नामका आधारमा नै यस गाउँपालिकाको नाम कानेपोखरी राखिएको हो । काने देवता, काने महाराज, काने गोठालो या कानको गहना दिने बूढी मानिस तथा कानको आकारको पोखरी जे भए पनि यो पोखरी यस भेगको एक महत्वपूर्ण स्थान मानिन्छ । तसर्थ यस गाउँपालिकाको नाम पनि काने पोखरी राखिएको हो ।
अवस्थिति
    मोरङको मध्य भागमा पर्ने कानेपोखरी गाउँपालिका नक्सामा हेर्दा सिधा ठाडो करिव आयताकारमा रहेको देखिन्छ । यो गाउँपालिका बयरबन, केरौन र होक्लाबारी गाविसलाई मिलाएर वि.सं. २०७३ सालमा पुनर्संरचना गरिएको हो । कानेपोखरी गाउँपालिका निर्माणका क्रममा साविकको बयरवन, केरौन र होक्लावारीलाई मिलाइएको छ । यसमा निम्नानुसारले वडा विभाजन गरिएको छ ।
होक्लाबारी गाविसका वडा नं. १ देखि ९ सम्मलाई     कानेपोखरी गापा वडा नं. १
केरौन गाविसका वडा नं ३, ४ र ६ देखि ९ लाई     कानेपोखरी गापा वडा नं. २
वयरवन  गाविसका वडा नं. १ देखि ५ लाई         कानेपोखरी गापा वडा नं. ३
वयरवन  गाविसका वडा नं. ६ र ७ लाई         कानेपोखरी गापा वडा नं. ४
केरौन गाविसका वडा नं १, २ र ५ लाई         कानेपोखरी गापा वडा नं. ५
वयरवन  गाविसका वडा नं. ८ लाई             कानेपोखरी गापा वडा नं. ६
वयरवन  गाविसका वडा नं. ९ लाई             कानेपोखरी गापा वडा नं. ७
    मध्य मोरङका यी तीनवटा गाविसलाई मिलाएर कानेपोखरी गाउँपालिका बनाईएको हो । यस गाउँपालिकामा जम्मा ७ वटा वडाहरू छन् । यस गाउँपालिकाको नाम भने कानेपोखरी नामक पोखरीका आधारमा राखिएको छ ।
सिमाना
    कानेपोखरी मोरंगको मध्य भागमा पर्ने तराईको गाउँपालिका हो । यसको पूर्वमा पथरीशनिश्चरे सुनवर्षी नगरपालिका, दक्षिणमा रंगेली नगरपालिका, पश्चिममा बेलबारी नगरपालिका र उत्तरमा लेटांग नगरपालिका पर्दछन् । यस गाउँपालिकाको पूर्व र पश्चिममा मोरंगकै दुईदुईवटा नगरपालिका र उत्तर र दक्षिणतिर एउटाएउटा नगरपालिका पर्ने हुँदा नगरपालिकाहरूका बीचमा रहेको एउटा मुख्य गाउँपालिका कानेपोखरी हो भन्न सकिन्छ । विभिन्न प्रकारका प्राकृतिक श्रोतहरूले सम्पन्न यो गाउँपालिका तराईका सम्म भूभागमा पर्दछ । चारकोश झाडीको अवशेषका साथमा प्रशस्तै सिमसार र पोखरीहरू रहेको यो गाउँपालिकाको अत्यधिक जसो जमिन अति उर्बर पनि छ । तसर्थ यसलाई मोरंगको अन्नभन्डारका रूपमा पनि लिन सकिन्छ ।
क्षेत्रफल
    कानेपोखरी गाउँपालिकाको सिमाना पूर्वमा पथरी शनिश्चरे तथा सुनवर्षि नगरपालिकासँग जोडिएको छ । चारैतिर विभिन्न नगरपालिकाहरूले घेरेको यस गाउँपालिकाको क्षेत्रफल भने ८२.८३ बकिमी छ । यो गाउँपालिका समुद्र सतहबाट करिव ७५ मिटर उचाईमा रहेको छ । यस गाउँपालिकाको भू–उपयोगको अवस्थामा अधिकांश भुभाग कृषि क्षेत्रले ओगटेको छ । यस गाउँपालिकाभित्र तीनवटा सामुदायिक वनका साथमा एकवटा धार्मिक वन पनि रहेका छन् । तर यस गाउँपालिकाभित्र चारकोशे झाडी पनि पर्दछ । यस गाउँपालिकाको क्षेत्रफल ८२.८३ ब.कि.मी. रहेको छ ।
भौगोलिक स्वरूप
    कानेपोखरी मोरङको बीच भागमा पर्ने गाउँपालिका हो । चारैतिरबाट नगरपालिकाहरूले घेरेको यो गाउँपालिकाको उत्तरी भागबाट पूर्वपश्चिम लोकमार्ग गएको छ । यता कानेपोखरीदेखि रंगेलीसम्म पनि मोटरबाटो छ, जुन हाल ग्राभेल गरिएको छ भने त्यसलाई कालोपत्र गर्ने प्रयास भईरहेको देखिन्छ । यो गाउँपालिकाको सवै भूभाग सम्म तराई प्रदेशमा पर्दछ । तर पनि यसको उत्तरतिर चारकोशे झाडीमा भने अहिले पनि थुम्काथुम्की र सिमसार रहेका छन् । तर यसको ढाल दक्षिणतिर फर्किएको हुनाले यहाँका खोलानाला दक्षिणतिर बग्ने गर्दछन् । यो गाउँपालिकामा वनजंगल निकै धेरै छ भने यहाँ सिमसार र पानीका मूल पनि अनगिन्ति छन् ।