सूचना
६२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सम्बन्धी सूचना ।
६ नम्बर वडामा जग्गा नापजाँच सकिएका ६२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आज मिति २०७९ साल भदौ २९ गतेका दिन कानेपोखरी गाउँपालिकाको आयोजनामा सन्चालित कार्यक्रम मार्फत जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष श्री राजमती इङ्नामज्यूको सभाध्यक्षतामा सन्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय शशी श्रेष्ठज्यूको प्रमुख आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष श्री केशव निरौलाज्यू विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको थियो। राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष, सदस्य, सदस्य सचिव, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालज्यू, राष्ट्रिय भूमि आयोग, जिल्ला समिती, मोरङका अध्यक्ष श्री सुशीला घिमिरेज्यू लगायत जिल्ला समितिका सदस्य, सदस्य सचिव तथा मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुख, बेलबारी, बिराटनगर र रङ्गेली मालपोत र नापी कार्यालयका प्रमुख, कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि, स्थानीय सहजीकरण समितिका सदस्य लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति आजको कार्यक्रममा रहेको थियो।
भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरणको आजबाट औपचारिक शुरुआत भएको छ। अव्यवस्थित बसोबासीको आर्थिक स्थितिलाई मध्यनजर गरि तत्काल जग्गा उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाइदिन गाउँपालिका अध्यक्षज्यूले माननीय मन्त्रीज्यू र राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्नु भएको छ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यमा प्रत्यक्ष तथा परोक्षरुपमा अहोरात्र खटिनुहुने प्राविधिक टोली, ६ नम्बर वडा समिती, सहजीकरण समिती लगायत सरोकारवाला सबैमा कानेपोखरी गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ।